Sustain Humanity


Thursday, April 30, 2015

लोकतन्त्रले जनतालाई के दियो ? इन्द्रलक्ष्मी घिमिरे

लोकतन्त्रले जनतालाई के दियो ?

  • इन्द्रलक्ष्मी घिमिरे 
वैशाख ११ , काठमाडौं ।

लोकतन्त्र दिवस मनाइरहँदा आममानिस अझै पनि लोकतन्त्र अनुभूति गर्न नपाएको गुनासो गरिरहेका छन् । राजनीतिक उपलव्धि पाएपनि मुलुकको स्थायित्व, जनताको समस्या सम्वोधन र विकासको गति उनीहरुको चाहना बनेका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणको एजेन्डासँगै शुरु भएको परिवर्तनको यात्रालाई राजनीतिक किचलोले अप्ठ्यारो पार्ने आशंका एकातर्फ छ भने लोकतन्त्रको अनूभूति हुन नपाएको भन्दै जनआक्रोश चुलिदैछ । लोकतन्त्र दिवसको दिन शुक्रवार राजधानीका सडकमा भेटिएकाहरुको गुनासो यस्तै पाइयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पाउने जनचाहनामा दलहरुको पुरानै संस्कार र प्रवृत्तिले तुषारापात गराउने खतरा पनि छन् । लोकतन्त्र बहाली हुँदा जनतामा देखिएको उत्साह र उमंगको पारो विस्तारै सेलाउन थालेको छ । राज्यमा देखिएका सामाजिक–आर्थिक समस्या, गरिवी र अभाव, शिक्षा–स्वास्थ्यमा बढ्दै गएका विभेदको अवस्थाले नागरिकहरु हैरान छन् । लोकतान्त्रिक व्यवस्थामा निराशा बढ्न थालेको संकेत देखा परेका छन् ।

राजनीतिक परिवर्तनले ल्याएको चेतना, समाज परिवर्तनका गति तथा विकृति र विसंगति विरुद्धको सामूहिक ऐक्यवद्धता लगायतले नेपालमा लोकतान्त्रिक व्यवस्थामा योगदान गरेका छन् । जनताका समस्या सम्वोधन हुनसके लोकतन्त्र संस्थागत हुन त्यति गाह्रो नहुने मत राख्नेहरु पनि छन् । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत शारदा ढकाल लोकतन्त्र सुदृढ गर्न जनताले चाहेको जस्तो सामाजिक र आर्थिक परिवर्तन आवश्यक रहेको धारणा राख्छिन् ।
दलीय नेतृत्वप्रति अविश्वास, बेरोजगारी, महंगी जस्ता समस्याको बढोत्तरी, सामाजिक मूल्य–मान्यतामा आएको ह्रासले लोकतान्त्रिक व्यवस्थामा नकारात्मक भूमिका खेलेका छन् । जनअपेक्षा अनुसार नेतृत्व अघि बढ्न नसक्दा लोकतन्त्र संस्थागत गर्न नसकिएको विगत यसपटकको लोकतन्त्र दिवसमा समेत स्मरण गरिएको छ ।
- See more at: http://radiokantipur.org/kantipur-diary/14984/%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A4%A4%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%B2%E0%A5%87-%E0%A4%9C%E0%A4%A8%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%95%E0%A5%87-%E0%A4%A6%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-?/#sthash.HWzKljRf.dpuf

No comments:

Post a Comment